Wednesday, October 9, 2013

कास्कीको ढिकुरपोखरीमा एकजनाको हत्या

गोकुल बानियाँ/कास्की, असोज २३ गते । कास्कीको ढिकुरपोखरीमा आज एक जनाको हत्या आशंका गरेका छन् ।  पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत ढिकुरपोखरी २ मा सराङ्गकोटका २८ बर्षिय मधुसुदन अधिकारीको हत्या भएको हो । बसको ठक्करले ज्यान गएको प्रारम्भिक अनुमान गरिएपनि उनको हत्या भएको आशंका छ । आज बिहान काठमाडौंबाट बाग्लुङ्ग जादै गरेको ना ५ ख ८७४ नम्बरको बसले ग २ प ९६६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक अधिकारीको मृत्यु भएको भनिएपनि उनको हत्या आशंका गरिएको छ ।

घटनास्थल नजिकै रगतले लत्पतिएको दुई वटा खुकुरी र लाठी भेटिएको स्थानिय युवराज खतिवडाले जानकारी दिए । स्थानियले घटनास्थलमा हत्यामा प्रयोग भएका सामाग्री भेटिएको जानकारी गराएपछि बिहान सडक दुर्घटनाको मुचुल्का उठाएको प्रहरीले पुनस् अनुसन्धानमा खटिएको छ । थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षक रोशन खड्काको टोलि पुनस् घटनास्थल पुगेको छ ।

पारिवारिक रिसिईबीको कारण उनको हत्या भएको आफन्तले आशंका गरेका छन् । गाउकै दलित युवतिसंग बिहे गर्ने बिषयमा १५ दिन अघि मात्र उनलाई ज्यान मार्ने धम्की आएको र बस चालकको संलग्नतामा उनको हत्या गरिएको हुनसक्ने आफन्तले आशंका गरेका छन् । घटनास्थलको प्रकृति हेर्दा अन्यत्रै हत्या गरी सडक दुर्घटनाको कारण देखाउन उक्त स्थानमा ल्याईएको स्पष्ट हुने प्रत्यक्षदर्शीले बताएका छन् । घटना बिहान भएको भनिएपनि राति हत्या भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले भने अधिकारीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको बताएको छ । सोहि घटनामा घाईते भएका ३६ बर्षिय सुमन नेपालीको चरक अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । शबलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

Sunday, February 5, 2012

सिद्ध बराह निमाबि कास्कीकोटको ४५ औ बार्षिकउत्सब तथा अभिभावक दिवस सम्पन्न

सिद्ध बराह निमाबि कास्कीकोटको ४५ औ बार्षिकउत्सब तथा अभिभावक दिवस सम्पन्न

Sunday, December 4, 2011

कास्की, कास्कीकोट र मेरो कलम

हिमश्रङखला शिरोमणी माछापुच्छ्रे र अन्नपुर्ण हिमालको वक्षस्थलमा अवस्थित सर्वमनोहरी सरोवर फेवतालको उत्तरमा समुन्द्र सतह देखि करिव १८००.मी उचाईमा अवस्थित कास्यप ऋषिको तपस्यास्थल कहिल्यै घाम नअस्ताउने घामको गरा वा थामाको गराको नामवाट चिनिने ठाँउको नाम कास्की हो । अर्थात कास्यपी ऋषिले तपस्या गरेको ठाउको नामवाट कास्यपी अपभ्रंश हुदै कास्की हुन गएको हो । नेपालको इतिहासमा एकीकरणको सन्दर्भमा त्रिशक्ति शव्दको विशेष महत्व छ, चौविसे राज्यहरु मध्ये पाल्पा, तनहुँ र कास्कीलाई त्रिशक्ति भनिन्थ्यो ।

स्कुले जीवनमा शैक्षिक भ्रमणको नाउमा गोरखा भ्रमण गर्ने चाजोपाजो विद्यालयवाट मिलाइयो धेरै साथीहरुले पहिलो पटक वजार, पिचवाटो विजुली अनुभव र मोटर चढ्ने सु—अवसर पनि प्राप्त गरे नौलो अनुभूति पनि सगाँले । कास्की पनि कुनै वेला छुट्टै राज्य थियो । अझैपनि यसको राजनैतिक अवशेष वाँकी नभए पनि भौतिक र सास्कृतिक अवशेष वाँकी छ भन्ने कुरा त्यतिवेला हाम्रा श्रद्देय गुरुहरुलाई थाह भएन वा थाह भएर पनि प्राथामिकतामा परेन ।

विक्रमको दशौ शताव्दीमा नै अछाम राज्यको हरुवा राजा नरेन्द्र शाह आफ्ना मंत्री खड्ग सिहं कुवँर र तिमिल्सीना थरका देवीदत्त उपाध्यया पुजारी सहित कास्की आइपुगे । पाउदुरकोटमा वसी षडयन्त्रको तानावाना रचे र कास्कीकोटमा घले राजालाई पदच्यूत गरी कास्कीका राजा भए र ईतिहासको काल खण्डमा ८३० वर्ष जति शासन गर्दा चौविसे राज्य मध्ये को एक कास्की राज्य शक्तिशाली पनि भयो । वि.स १८४२ पछि कास्की राज्य गोर्खा भनौ या नेपाल राज्यमा विलिन भयो ।
   प्रा.डा. जगमान गुरुङको चर्चित पुस्तक गण्डकी प्रसवणक्षेत्रको सांस्कृतिक सम्पदा भन्ने पुस्तकमा “नुवाकोटका राजा मिन्चा खानाका कान्छा छोरा जगाती खान शाहीले कास्की राज्य खडा गरे र तिनी कुल मण्डन शाहका नामवाट प्रशिद्द थिए । कुलमण्डन शाहका कान्छा छोरा यशोव्रक्ष शाह लमजुङमा राजा भए । यशोव्रह् शाहका कान्छा छोरा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरे । पृथ्वीनारयण शाहका नाती रण वहादुर शाहको पालामा कास्की राज्य नेपाल राज्यमा मिलाइयो ” भन्ने उल्लेख छ । तर पहिलो तर्क नै यो भन्दा विश्वसनिय छ । मेरो घरवाट ढोका उर्घानासाथ कास्कीकोट सवभन्दा पहिला देखिन्छ । कास्कीकोट र धिताल सीमाना जोडिएको छ । वारपार सिधा धागो तानेर नाप्ने हो भने मेरो घरवाट कास्कीकोट मुस्कीलले १०००—१५०० मिटर मात्र होला । भौगोलिक हिसावले धिताल कास्कीकोट समानान्तर पहाड र विचमा सुइखेत खोला फाँट जंगल भएकोले होला पोखरा भन्दा धितालको लागि कास्कीकोट टाढा छ  भावना टाढा छ । यही भएर होला आजसम्मा कास्कीकोट टेक्ने काम भएको थिएन । हालैमात्र कास्कीकोट पुगेकोले शव्द चित्रमा व्यक्त गर्दछु ।

कास्कीकोट जाने ईच्छा जागृत भयो । प्रेयसी कास्कीकोटको फेदमा जन्मीएकी केटी नौलो कुरा यस पाइएला साथी भईदेउ भन्दा ईन्कार गरिन । मेरो पैतृक सम्पत्तीको प्रथम हकदार पुत्र शिशिरलाई नै साथी वनाउने निधो गरे । स्कूटरको
पछाडी राखें हेम्जा फेदी हुदै नौडाडाँ सम्म पिचवाटो सम्मा सजिलै पुगियो । लेवाडेमा एक छिन रोकी जनयुद्धका नायक श्रद्देय पुष्पकमल दाहालको पुरख्यौली थलो छोरालाई देखाई दिए । नौडाडाँमा पुगेपछी पुरै यु टर्न गरी हिउदको धुले वर्षाको हिलेवाटो हुदै कास्कीकोटको द्धारमा पुगे । विदेशमा रोजगारीको शिलशिलामा पुगेकाहरुको आर्थिक सहयोग र सक्रियतामा कास्कीकोटको मौलाको मुलचौतारा र भद्रकालीको मन्दिर भएको स्थानमा भव्य प्रवेशद्धार निर्माण भएको रहेछ । पुजारी मध्येका कृष्णप्रसाद उपाध्यायलाई म कास्की कोट आउने जानकारी गराएको थिए । उहा आउन नपाउने भएकोले पुजारी मध्यकै एक टिकाराम त्रिपाठी मलाई वाटो देखाउन आउनु भयो । विशेष भौतिक योजना अन्तरगत प्राप्त अनुदानवाट केही मिटर वाटो निर्माण भएको रहेछ । सिमेन्ट र वालुवाको जोडाई नगरेको भए के हुन्थ्यो भनी सोधे । दशैमा देविको मन्दिरमा राँगाको वलि दिएपछी त्यही वाटोवाट घिर्सादै ल्याउन वाटामा विच्छाइएका ढुंगा दायाँवाँया हुने गरेकोले वलियो वनाउन सिमेन्ट प्रयोग गरेको भनी भन्नु भयो । अमाली मध्येका खिम वहादुर कार्की पहिल्यै मन्दिर पुगी सक्नु भएको रहेछ । करिव ३० मिनेट उकालो हिडेपछी गुप्तकालिका मन्दिरको गेट आइपुग्यो । मैले जुत्ता फुकाले मैले फुकालेको देखेपछि शिशिरले पनि त्यसै ग¥यो । एकपटक प्रदक्षिणा गरेर मन्दिर पुग्ने गरी वाटो वनाइएको रहेछ । यहाँको वाटामा प्रवेशद्धरमा विच्छायाइएजस्ता ढुंगा विच्छाउनु पर्नेमा गिट्टी वालुवा र सिमेन्टको जोडाई गरी वनाइएको रहेछ । उत्तरतर्फवाट प्रवेश गरेको मन्दिरको पश्चिमतर्फ सुरुमै भैरवको स्थान रहेछ सुंगुरको वली चढ्ने स्थान भनेर त्यहाँ छुट्टै वनाइएको रे पुजारीले अलिक नाक खुम्च्याउनु भयो । ३ वर्ष पहिला मात्र पोखराका वासिन्दा सुरज वैद्य ज्यूले एउटा ठुलो घंण्ट मन्दिरमा राखिदिनु भएको रहेछ । प्राचीन राजाको दरवार हालको यस क्षेत्रको प्रशिद्ध कास्कीकोट मन्दिर केही व्यवस्थित होला भन्ने लागेको थियो केही रहेनछ । आगनमा २–४ रागाँलाई २—४ दिन पुग्ने घास उम्रिएको रहेछ । प्रदाक्षिणा गर्ने वाटोमा पनि त्यस्तै झार र घास मात्र रहेछ । मैले आजसम्म देखेका मन्दिर भन्दा विल्कुलै भिन्न खालको मन्दिर रहेछ । दक्षिण पूर्ववाट भित्र पस्नु पर्ने भित्री माटाले लिपेको पुजा मण्डप र त्यस ठाँउवाट पश्चिमतर्फ गुप्त कालिकाको मुर्ति रहेछ । हामीलाई पुजारीले भित्र पस्न दिएनन्  हामीले पुजा सामाग्री केही नलागेको हुनाले पर्स खोली न्यून भेटी दिएँ । कार्यालयको ठुलो मान्छे आएको मन्दिरमा धेरे दाम चढाउछ होला भन्ने पुजारीलाई लगेको हुनु पर्दछ । गुप्त कालिकाको फोटो खिच्ने ईच्छा जागृत भयो । शिशिरलाई २ पटक फोटो खिच्न लगाए । हालसम्म गएका मन्दिरहरुमा अर्काले पुजागरी दिएको र ढोका वाहिरा वसेको यो पहिलो अनुभव थियो । हामी भित्र रहेको वेला अर्काे १ जोडी दर्शनार्थी पनि आए । परेवा ल्यएका रहेछन वली चढाउने हो ? भनी मैले सोधे पुजारीले हैन उडाउने हो भन्नु भयो ।

मन्दिर भनेपनि पहिलेको राजाको वासस्थान रहेछ गजुर पनि धमिलो त्यही पनि पुरातत्व विभागले उपलव्ध गराएको रहेछ । इटाको गारो भएको भवनमा जिर्णेदार गर्न पुरातत्व विभागले सहयोग गरेकोमा पुरातात्विक संरचना विग्रने गरी घरको वाहिर मुख्य भागमा पलास्टर गरिएको पुरातत्व झल्कने संरचनालाई विगारेकोले त्यसपछि रकम आएको छैन भन्ने जानकारी भयो । म मन्दिर भित्र पस्दा गुप्तकालिकाले यतिका  वर्ष पछि आउने ? भनी प्रश्न सोधे जस्तो भान भयो  यहाँ नआए पनि मेरो वाटो र मेरो अन्तर आत्मावाट एक पटक होईन हजार  पटक दर्शन गरेको छु भन्ने जवाफ मन मनै फर्काए । वाहिर निस्किए पछि कम्पाउण्डको वाण्डामा वसे त्यही पनि कुरो रहेछ  सवै कपडामा टासियो । मन्दिर र वरिपरिको वातवरण देख्दा कता कता हिनताको ईश्याग्रन्थी सल्वलायो । साहित्यको आधुनिक प्रविधि र शिल्प सगं अपरिचित र कुशल शव्दसारथी आफु नभएको हुनाले यस भन्दा ज्यादा हिनता व्यक्त गर्न सकिन । संस्कृतिको जगेर्ना उन्नयन र विस्तार गर्न कुन क्षेत्र वढी लाग्नु पर्ने हो प्राथामिकता किटान गर्न पनि सकिन । फेरी प्राकृतिक हाउभाउ लुकाएर कृतिम हाउभाउमा रमाएको हुनाले यहाँको रमणीयतासगँ नतमस्तक भए ।

भूमिको अदभूत प्राकृतिक वनावट कहि पवित्र जलाशय नदीहरुको संगम र तट कही भगवदअवतारहरुको जन्म एवं लिला भूमि र कही ऋषी मुनि र सन्त महात्महरुको तपोभूमि भएकोले ति स्थानहरु पवित्र एवं पुण्यप्रद मानिन्छन् । यस्ता स्थानहरु भौगोलिक रुपमा नै स्वच्छ एवं रमणीय हुने र वातवरणले नै मानिसको अन्तरआत्मालाई पवित्र वनाउछ । यहाँको एक दिनको र एक छिनको वसाईले अरु नभए पनि वातवरणीय सभ्यताको अनुभव हसिलो र रमाइलो गरायो ।

गाँउको शिरस्थानमा अवस्थित प्रशिद्ध र ऐतिहासिक स्थल भए पनि मन्दिर वरिपरि र वाटोको अवस्था हेर्दा आफ्नो राज्य सत्ता गुमेको २२६ वर्ष पछि पनि यत्तीको भएकोलाई धन्य मान्नु पर्ने रहेछ  । कास्कीकोटमा पुग्दा यहाँको रमणीय र फराकिलो पन देख्दा लाग्छ यो नै स्वर्ग हो मानौ अन्यन्त्र यस्तो रमाईलो ठाउ नै छैन । यहाँको सुन्दरताको वर्णन शव्दमा गर्दा अपुरो हुन्छ । चर्म चक्षुले हेर्दा यहाँको सुन्दरता सगँ नतमष्तष्क हुनु पर्दछ ।

कोटवाट उत्तरतिर चियाउदा मेरो गाँउ धिताल पुरै देखियो । गाँउमात्र देखिएन मेरो घर पनि देखियो । गाँउ र घर मात्र होइन काँठका अनेकौ सुन्दरतम वस्तीहरु पनि देखियो । पुरै हरियाली नै हरियाली नै  चारै तर्फ हरियाली । पहेलपुर भै फुल फुल्न अव १ महिना मात्र वाँकी छ । समानान्तर धिताल जयकोट र अस्ताम आफैमा मख्ख थिए ।  म पनि त के कम फिल्मी नगरी वन्दै छु । मर्दिखोला भन्दै थियो निरन्तर प्रवाहित छु । विजुली वन्द छु असलाले फाँट भर्छु र शहरीयहरुको गला भिजाउन पोखरा झर्छु । ल्वाङ गाँउले भन्दै थियो  अव चिया वगान हेर्न ईलाम जान पर्दैन हाम्रै चिया युरोप पुगि सक्यो । माछापुच्छ्रको लेक भन्दै थियो गुरास फुलाउछु टुसा फलाउछु ,जडीवुटी फलाउछु । जति काट्यो त्यति पलाउछु मिश्र्राको लेकमा लैनी भैसी उत्पादन गरेको छु चाहिने भए आउनु । सार्दीखोला र पुरन्चौरले भन्दै थिए वालन नाच त कहिले कही देखाउछु । चर्खा र कर्खा गाउने कोही छैन कास्कीमा भन्दा हाम्रो म पहिला पिच वाटो र सिचाइले उर्वर माटो । ठुला खर्कले भन्दै थियो खिमलालले सगरमाथा चढ्यो तैले आफ्नै वरिपरिको वखान गर्देछस । पञ्चासेले रिसाएको मुद्रमा भन्दै थियो कहाँ कहाँ पुगीस म कहाँ अहिले सम्म आएको छैनस यहाँ आएर चारै तिर एकपटक हेर तेरो पश्चिमाञ्चल लगभग पुरै देखिन्छ अनि गर्लास प्रकृतिको वर्णन ।

रमाईलो भए पनि दक्षिणी रमणीयता संग रम्न सकिन । सोझै भन्दा हेर्न मन लागेन । हेर्दिन भन्दा पनि नहेरी सुख नपाईने । प्रकृतिको अनुपम छटा र कुनै शव्दले विभूषण प्रदान गर्न आवश्यक नपर्ने फेवातालको अवस्था देख्दा मन खिन्न हुन्छ हिनतावोधको अर्काे ग्रन्थी रसाउछ । कस्केली हुनुमा कास्कीको कुनै कार्यालयको कर्मचारीहुनुमा सानो तिनो राम्रो नराम्रो कलमजिवी हुनुमा न्युटनको गुरुत्वकर्षणको नियम अनुसार प्रत्येक वस्तु अग्लो ठाउवाट होचो ठाउतर्फ आफै जान्छ  माथि वाट तल खस्छ । कास्कीकोट सराङकोट ढिकुर पोखरी भदौरे तमाङ्गी चापाकोटको पानी कही हर्पन खोला  हुदै त कही सोझै फेवातालमा झर्दछ पानीसगै फेवताल पूर्न सहयोग पुग्ने झारपात ढुगां वालुवा फेवताल पुग्छन् । त्यसैको परिणाम स्वरुप वर्षेनी फेवा फाँट वढेको वढ्यै छ फेवताल घटेको घटै छ , अव फेवा पोखरी होला भन्ने ठूलो चिन्ता र सन्देह भए र के गर्नु । प्रशासनमा छदा मोटरवाटोको उपभोक्ता समिति दर्ताको टिप्पणी उठाए रजिष्टरमा दर्ता गरे । फेवा वाँधमा एउटा ईट्टा थपिनु पर्नेमा हर्पन खोलामा आफ्नै हातले वालुवा खन्याएछु जस्तो लाग्यो । मोटर वाटोको अवस्था हेर्दा आफ्नो वाटो आफै डोजर लाएर खनौ आफ्नो ताल आफै पुरौं त्यसैमा आनन्द मान्दै मस्त निन्द्रमा घुरौं भन्ने गरेको जस्तो लाग्यो । कास्कीकोट त्यसवेला उत्तर तर्फवाट सुरक्षित थियो । दक्षिण तर्फवाट मात्र पहरा दिए हुन्थ्यो । अहिले पनि कास्कीकोटका उत्तर तर्फका सवै प्रकृतिक वस्तु सुरक्षित र जीवन्त छन् तर दक्षिण तर्फ ठिक यसको विपरित ।

अव सवै यहाँको भौगोलिक अवस्थाको वारेमा केही चित्रण गरौ । यस सत्ता होडवाजीको संसारमा प्राकृतिक संस्कृतिक ऐतिहासिक र रमणीय स्थल भन्दा शासन सत्ता शक्ति सदरमुकम र शहरी वसाई नै सर्वे सर्वा हो । गुठी संस्थान कहाँ छ के काम गर्दछ यहाँका वासिन्दालाई पनि थाह छैन र गुठीयारलाई पनि थाह छैन । पुरातत्व विभाग यस मन्दिर सगँ रिसाएको छ किनभने त्यहाँका कर्मचारी देवी देवता भन्दा वढी रिसाउछन् र श्राप दिन्छन् हाल भैरहेको  स्थानीय निकाएहरुको विकल्पको खोजी गर्नु पर्ने  समय यहाँवाट आशा गर्नु  व्यार्थ छ । मन्दिर परिसरको घाँस र हेलिप्याडको काँसले गुठीयार र यस क्षेत्रका धर्ममिरु र समाजसेवीहरुलाई गिज्याई रहेको छ । यहाँका सरोकारवला,गुठीयार,पण्डित,पुजारी,कोटाले,वानदार, वाडाँ ,सेन्चुरी ,कर्ता ,दाउरे ,सरुने आदी सवैलाई यस प्रचिन ऐतिहासिक धार्मिक क्षेत्र कास्कीकोट संग सम्वन्धीत भएकोमा गर्व भएको हुनु पर्दछ । समय परिस्थिती आन्तरिक र व्यक्तिगत समस्या संस्कृति प्रतिको लगाव र धारणमा परिवर्तन आदि कुराले गर्दा यस तर्फ जति सक्रियता र संलग्नता हुनु पर्ने हो सो नभएको हुन सक्छ । कास्की जिल्लामा यति धेरै गुठी भएको अन्यत्र कुनै मन्दिर छैन । फेवा फाँटको आधि खेत र कास्कीकोटको आधि टारी  कास्कीकोटको गुठीले ढाकेको छ । वाटो सफा गर्ने देखि पात गाँस्ने सम्मका सवैलाई गुठिको व्यवस्था छ । उहिलेको कुरा खुईले भने जस्तै गुठीयर भएकै कारणले मन्दिरमा गएर भक्तिभाव देखाउछन् देखाउदैनन् हात जोडी नमस्कार गर्छन गर्दैनन् थाह भएन तर एक दिन गएर मन्दिर परिसर सफा गर्दा रहेनछन् भन्ने थाह पाइयो र साथै गुठीका आम्दानीले धेरैले राम्रै व्यवस्था गरेका छन् भन्ने कुरा थाह पाइयो । वास्तविकता के हो सरोकारवालालाई थाह होला । भारतको विन्ध्यानलवाट त्यति नै वेलाका शासकले विन्ध्यवासिनीको मुर्ति ल्याए । कालान्तरमा कास्कीकोट उजाड र एकलो हुन्छ भन्ने थाह पाएर होला विन्ध्यवासिनी देवीले मिरुवामा वस्ने ईच्छा व्यक्त गरिन कास्कीकोट  गइनन । आजकल तुलना गर्दा कहाँको कास्कीकोट, कहाँको  विन्ध्यवासिनी । मन्दिर स्थापना गरेर  गुठी व्यवस्था गरेर मात्र मानिसको धार्मिक आस्था वृद्धि हुने होइन रहेछ । संसारमा सवभन्दा धेरै मानिसले वुद्ध धर्म मान्छन् र सवभन्दा धेरै मुर्ति वुद्धका निर्माण भएका छन् । संसारका धेरै मानिसले नमाज पढ्छन् मस्जीद जान्छन । त्यति नै मानिस चर्चामा पुग्छन् तर तिनीहरुको राज गुठी छैन होला । तिनीहरु ह्ेर्दा सफा व्यावस्थित र आकर्षित छन् । जनस्तरवाट र अन्तरआत्मवाट उत्पन्न हुने आस्था नै धर्म हो तर हामी कहाँ मानिसको जनसंख्या भन्दा धेरै देवता छन् । दुखको समयमा मात्र भगवानलाई सम्झने र भाकल गर्ने अनि पशु पंक्षीको वलि दिने चलन छ ।

सिद्दीनारयण शाहसम्म राजदरवार र त्यसपछि गुप्तकालीका मन्दिरमा परिणत गराइएको यस स्थानको वरिपरिका ऐतिहासिक अवशेषहरु अझै वाकी छन् । खडग देवीको मन्दिर, पुरानोकुवा, ठानाको गरो ,पश्चिम ढोकाकोमुख, प्रचीन कालका घरका भग्नावशेष, वोखल, रानीले कपाल कोर्ने ढुगां , भारदारी सभास्थल , रुमाल झाक्रीको स्थान, देउराली मन्दिर, महर्षि कस्यपको तोभूमि, र महाकुलेश्वर मन्दिर धर्तिफाँट ,चण्डीको मन्दिर, कालीकी कुण्ड, फुलपातीको डोली विर्सजन मार्ग धुपी चौर, कुलमण्डन पार्क, ठुली पोखरी, वसाहस्थाल, शिवको मन्दिर, मनकाङक्षको मन्दिर, वासपानी कालिका मन्दिर, पूर्व ढोकामुख, र मान्द्रेढुंगा, यद्दपी छदैछन् । मन्दिरको उत्तरतर्फको भिराले जग्गामा रहेको  हरीयाली वनले छुट्टै शोभा दिएको छ । यस वनमा धेरै लालीगुराँस छन् । पहिलेको निगालो र तारवार गरिएको ठाँउमा लगिएको अम्रिसो लगायतका  वोट विरुवा हेर्दा यहाँ जैविक विविधता कायमै छ । वातवरणीय हिसावले संतुलित छ । त्यसैले यो ठाँउ सुन्दर मन हुनेहरुको  लागि अति सुन्दर र विक्षिप्त मन हुनेहरुको लागि सुधार गृह, वृद्धवृद्धहरुको धर्मस्थली, युवा युवतीहरुको माया प्रिती साटसाट गर्ने क्रिडास्थल, साधु सन्तहरुको तपस्थली, र अध्ययन अनुसन्धन गर्नेका लागि सृजनास्थल, हो त्यसैले त मन्दिर पश्चिमको थुम्कोलाई गजल थुम्की नाम राखिएको छ ।

फुलपातिका दिन कुवँर थरका क्षेत्रीहरुले सरुन खेल्छन् । सरुन खेल भनेको ढाल तरवारको हतियार प्रर्दशन खेल हो । यिनै कुवर मध्येका जंग वहादुर कुवँरले कोतपर्वमा साचिकै सरुन खेले  रगतको खोलो वगाएर सत्तामा पुगे पु¥याए १०३ वर्ष शासन गरे  तर पुरख्यौली थलोको कहिल्यै सम्झना गरेनन । अर्काले सरुन खेलेको हेरेर आनन्द मान्नेहरु आफ्नै वंश संगको सरुने लडाइमा हार खाए, जितेकाहरुले पनि कालान्तररमा कहाली लाग्दो र अपत्यारिलो ढंगले आफ्नै विनास हुने गरी सरुन खेले, तैपनि २२३ वर्षाे शाह कालमा २ जनाले मात्र यस  ठाउमा पाईला टेके । अन्य सरोकारवलाहरुको वारेमा त माथि नै उल्लेख गरी  सकिएको छ । यसो हुनुमा सही परिकल्पना कल्पनाशील र कर्मठ नेतृत्व ,समुदायका आम समुदायको व्यापक सहभागिताले मात्र कुनै पनि क्षेत्रको सर्वाङ्गण र दिगो विकास सम्भव छ । भन्ने वोध गराउन नसक्नु नै  यहाँको मुख्या समस्या हो । यसरी अनेकौ महत्व र विशेषताले ढकमक्क फुलेको गुप्तकालीका क्षेत्र हरेक प्रकारले संरक्षण र सम्वर्धनको पर्खाइमा छ ।

कास्कीकोटका विभिन्न क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्र नामाकरण गरेको समाचार केही पहिला आएको थियो । त्यस सम्वन्धमा एक पर्यटन विकास समिति गठन भएको भन्ने जानकारी भयो । सराङकोटवाट दुवै तर्फ देखिने गरी हिल टप - Hill Top _ पैदलमार्ग निर्माण गर्ने हो भने आन्तरिक र वाह्य पर्यटक आउने  वढी सम्भावना हुन्छ भन्नु हुन्छ यस मन्दिरका अमाली खिम वहादुर कार्की । पर्यटनको हिसावले पोखरा विश्व प्रशिद्ध छ । त्यही पोखराको शिरमा रहेको कास्कीकोटमा पर्यटकीय गतिविधि शुन्य छ । यसलाई विडम्वना नै मान्नु पर्दछ । पुरातत्व विभागले यस मन्दिरमा मर्मत सम्भार गर्न छाडेको प्रति वढी दुखी देखिनु हुन्छ  पुजारी तथा गुप्तकालीका क्षेत्र विकास समितिका महासचिव कृष्णप्रसाद उपाध्याय ।

मानिस सामाजिक जीवन व्यतित गर्ने प्राणी हो यसको जीवनशैलीको निर्माणमा सामुहिक विकास, परम्परा, मान्यता र मुल्यहरुले संस्कारको रुप लिन्छन । धर्म दर्शन चिन्तन रचान्तमक आन्दोलन आस्था, शिल्प, कला, संगीत, नृत्य, आध्यात्मिक साधाना, उपासना, चाडपर्व, आदि मानिसका दैनिक जीवनसंग सम्वन्धीत सवै कुराहरु संस्कृति भित्र पर्दछन् । समय परिस्थिति अनुसार संस्कृतिमा भिन्नता हुन सक्छ । प्राचीन मानवीय संस्कृति आफ्नै किसिमको थियो आधुनिक संस्कृति आफै किसिमको हुन सक्छ । भएको गुठीको सहि परिचालन हुन नसकेको अवस्था एकतिर छ । सधैभरि गुठीयार हुनु पर्ने समस्या अर्काेतिर छ तर कास्कीकोटको पुजा गर्न सिंहदरवारवाट खर्च आउनु पर्ने अवस्था चाही व्यावस्थापकीय हिसावले त्यति राम्रो होेइन । फेरी  पुजा गरेपछि हुलाक मार्फत प्रसादको रुपमा मासु नारयणहिटीमा पु¥याउने चलन श्राद्धमा विरालो वाधे भन्दा फरक छैन । कहिलेकहि ईतिहास  र संस्कृतिलाई एउटै ठाँउमा राखनु पर्दछ । ईतिहासको महत्व आफ्ना ठाउमा छ । तर नेपालको सन्र्दभमा ईतिहास भन्नाले थोत्रो हो पुरानो हो वासी हो खियालागेको फलाम हो ,म्याद गुज्रीएको औषधि हो । त्यतिमात्र कहाँ हो र इतिहास भनेको शासक र शाशित वीचको विवेद हो, अत्यचार हो, भाई भाई विचको काटमार हो,  रक्त कुण्ड हो, आपसी वेमेल हो ,र षडयनत्र पनि हो । जो षडयन्त्रमा सफल हुन्छ उसैको ईतिहास लेखिन्छ उसैको ईतिहास देखिन्छ । त्यसैले गोरखा नुवाकोट र वसन्तपुरको ईतिहास प्रसस्त लेखियो  कास्कीकोटको लेखिएन । धेरै पछि ईतिहास लेख्न प्रयत्न गर्नेहरु प्रा.डा दुर्गाप्रसाद दवाडी र राजाराम सुवेदी ज्यूहरु धराहराको नौतले फेदमुनी रमाउनु भएको छ । अन्नपुर्ण र माछापुच्छ्रेको हजारतला भूमीवाट विस्थापित हुनु भएको छ । कास्कीकोटमा पुजा गरि सकेपछी खुकुरीको रगत पखाल्न ठुलो पोखरी निर्माण गरियो । जनताको आँसु र पसिना पखाल्ने पोखरी कहिल्यै वनाइएन । न अतितमा वनाईयो न आजकल वनाइएको छ । कस्यपी ऋषिको वर्णन गरेर फेरी अर्काे शुक्ल गण्डकी उत्पत्ती हुने होइन । नरेन्द्रशाह र खड्ग सिहं कुवँरको ईतिहास वताउदा कास्कीमा फेरी भोटेलामा पुजारी भएर आउने पनि होइनन चिलिमे डाडाका फेवाली रानामगरहरुले कास्कीकोटको पुजारी दावी गरी गुठीको दावी गर्ने पनि छैनन अहिले भैरहेका पुजारीहरुले पुजा गरेनन् भने फेरी भोटेलामा पुजारी फर्केर आउने पनि होईनन रुमाल झार्कीले अनिष्ट लगायतका रोग व्यादी असिना आदि तर्काउन सक्छन् सक्दैनन तर मान्द्रे ढुंगा उडेर फेवताल पुगी फेरी फर्केर आउन कदापी सक्दैन ।  पोखराको राजधानी पहिला कास्कीकोट थियोे अहिले कास्कीको सदरमुकम पोखरा भएको छ अर्थात जेठो कान्छो र कान्छो जेठो भएको छ  राजनीतिमा जस्तै । अझ घत लाग्दो कुरा त के छ भने पोखरा महानगरपालिका २५ नं वडा कास्कीकोट हुने कुरामा गर्व गर्नु हुन्छ पुजारी टिकाराम त्रिपाठी ।

कास्कीकोट कास्की जिल्लाको एक प्रमुख सम्पदा हो । हरेक समुदायका आ–आफ्नै महिमा छन् कथा किमदन्ती छन् । कास्कीकोटको ऐतिहासिक र सांस्कृतिक पक्ष दर्शाएर आन्तरिक र वाह्य पर्यटक प्रसस्त भित्रयाउने प्रयास गर्नु पर्दछ । अव कुलीनहरुको वखान नगरीकन प्रकृतिको वर्णन गरी देश विदेशमा हाम्रो सम्पदालाई चिनाउन सक्नु पर्दछ । सम्पदा संरक्षण सवैको कर्तव्य हो । कुनै सम्पदा नष्ट हुन दिनु भन्दा सवैको सामुहिक प्रयासवाट जोगाई पुर्खाका नासो सन्ततीलाई जिम्मा लगाउदा राम्रो हुन्छ । नयाँ मन्दिर वनाउनु भन्दा भै रहेकोलाई संरक्षण गरे पुग्छ । दर्शन यात्राको विकास गर्न सके राम्रोे । अव पण्डित्याई लाई टुपी, जनै कर कन्धनीमा, होइन पर्यटकीय जलापमा व्यवस्थित गर्न सके अझ राम्रो हुने थियो ।
– डिल्ली प्रसाद ढुंगाना


    




Sunday, October 30, 2011

कास्कीकोट, देउराली

कास्कीकोट,  देउराली

कास्कीकोट, ठुलीपोखरी, हर्पन खोला, फेवा ताल

गुप्तकाली मंदिर जानेबाटोबाट कास्कीकोट गाबिस भवन वरिपरीका बस्ति,  ठुलीपोखरी, सरांगकोट गाबिसका केहि बस्ति , हर्पन खोला, फेवा ताल, पोखरा लगाएतको मनोरम दृश्य    फोटो :- कुशल बस्ताकोटी

Friday, October 21, 2011

कास्कीकोटको मौला, ठुलीपोखरी

                                                          कास्कीकोटको मौला, ठुलीपोखरी 
                                                             फोटो - गोबिन्द प्रसाद पौडेल